आशिका तामाङ र सभामुखबीच बोल्ने समयलाई लिएर सवाल–जवाफ

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र सभामुख डीपी अर्यालबीच बोल्ने समयलाई लिएर केहीबेर सवाल–जवाफको अवस्था सिर्जना भएको छ।आकस्मिक समयमा आफ्नो विषय राख्न खोजेकी सांसद तामाङलाई सभामुख अर्यालले सुरुमा समय उपलब्ध गराएनन्। उनले उठाउन खोजेको विषय आकस्मिक प्रकृतिको नभएको भन्दै सभामुखले तत्काल बोल्न समय नदिएका हुन्। सरकारको ध्यानाकर्षण भइसकेको विषय भएकाले अहिले बोल्न आवश्यक नभएको उल्लेख गर्दै सभामुख अर्यालले तामाङलाई आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए। तर सभामुखको आग्रहपछि पनि तामाङ आफ्नो स्थानमा उभिइरहिन् र विषय राख्ने प्रयास जारी राखिन्।त्यसपछि सभामुख अर्यालले संसदीय प्रक्रिया तथा प्रतिनिधिसभाको मर्यादा कायम गर्न तामाङलाई सचेत गराए। सभामुख अर्यालले भने, “माननीय सदस्य आशिका तामाङ, यो प्रतिनिधिसभा हो। यहाँको मर्यादा कायम गर्नुस्। मैले माननीय सदस्यलाई समय दिएको छैन, माइक पनि दिएको छैन। त्यसकारण माननीय सदस्यले एकोहोरो बोल्ने होइन।” सभामुखको पटक–पटकको आग्रहपछि पनि तामाङ बस्न तयार नभएपछि बैठक केहीबेर सोही विषयमा केन्द्रित भएको थियो। अन्ततः सभामुख अर्यालले तामाङलाई आफ्नो विषय राख्न बोल्ने समय उपलब्ध गराए। प्रतिनिधिसभामा आकस्मिक समय तत्काल सार्वजनिक महत्त्वका विषय उठाउन प्रयोग गरिन्छ। सोमबारको बैठकमा भने सांसद तामाङले उठाउन खोजेको विषय आकस्मिक समयअन्तर्गत पर्छ वा पर्दैन भन्ने विषयमा सभामुखको निर्णयका कारण केहीबेर असहज अवस्था देखिएको हो। घटनाको मुख्य विषय सांसद तामाङले आकस्मिक समयमा बोल्न पाउने–नपाउने विषयमा सभामुख र सांसदबीच भएको मतभेद थियो।

थप पढ्नुहोस्

प्रधानमन्त्री कार्यालयको डिजिटल सिस्टममा ‘लाइभ ह्याकिङ’ हुँदै, ह्याक गर्न सक्नेलाई कदरपत्र र पुरस्कार

काठमाडौं । सरकारी डिजिटल प्रणालीको सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रत्यक्ष सहभागितामा ‘लाइभ ह्याकिङ’ कार्यक्रम आयोजना हुने भएको छ । साइबर सुरक्षा क्षेत्रमा क्रियाशील समूह पेन्टेस्टर नेपालको १३औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँको हेराल्ड कलेजमा विशेष कार्यक्रम हुन लागेको हो । यस कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कार्यालयले विकास गरिरहेको र सर्वसाधारणका लागि सार्वजनिक हुन बाँकी रहेको ‘pmdevcore[.]gov[.]np’  नामक डिजिटल सिस्टमको लाइभ सुरक्षा परीक्षण गरिनेछ । यो सिस्टम हाल परीक्षणको चरणमा रहेको छ । सरकारी प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुअघि नै त्यसमा रहेका सम्भावित प्राविधिक कमजोरी र सुरक्षा जोखिमहरू पत्ता लगाएर प्रणालीलाई सुरक्षित बनाउन यो ‍कदम चालिएको हो । आधिकारिक ‘भल्नरेबिलिटी डिस्क्लोजर प्रोग्राम’ अन्तर्गत सञ्चालन हुने यस सरकारी स्तरको कार्यक्रममा देशका दक्ष साइबर सुरक्षा अनुसन्धानकर्ता तथा इथिकल ह्याकरहरूलाई निम्तो दिइएको छ ।  सरकारी डेटा र सिस्टमको संवेदनशीलतालाई मध्यनजर गर्दै सहभागी अनुसन्धानकर्ताहरूलाई अनिवार्य रूपमा गोपनीयताको सम्झौता (एनडीए) मा हस्ताक्षर गराइनेछ । उनीहरूले आयोजकले तोकेको निश्चित दायरा र यूआरएलमा रहेर मात्र आफ्नो परीक्षण गर्नेछन् । सरकारी प्रणालीका सुरक्षा जोखिमहरू सफलतापूर्वक पहिचान गरी सुधारका लागि योगदान पुर्‍याउने अनुसन्धानकर्ताहरूलाई प्रधानमन्त्री कार्यालय र आयोजकका तर्फबाट डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ । साथै, उनीहरूलाई ‘हल अफ फेम’ र लिडरबोर्डमार्फत विशेष सम्मान दिइने आयोजकले जनाएको छ । कार्यक्रमको निर्णय छोटो समयमा भएकाले नगद पुरस्कारको व्यवस्था नगरिए तापनि सरकारी निकायको यस्तो सक्रियताले साइबर सुरक्षा क्षेत्रका पेसेवरहरूलाई थप हौसला मिल्ने विश्वास गरिएको छ । पेनटेस्टर नेपालको १३ औं वार्षिकोत्सवका अवसरमा आयोजित विविध कार्यक्रमहरूमध्ये यो मुख्य आकर्षणको रूपमा रहेको छ । कार्यक्रम आज बिहान ११ बजेदेखि औपचारिक रूपमा सुरु हुने आयोजकले जानकारी दिएको छ । पछिल्लो अध्यावधिक: साउन ३०, २०८३ १०:३० सरकारी डिजिटल प्रणालीको सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रत्यक्ष सहभागितामा ‘लाइभ ह्याकिङ’ कार्यक्रम आयोजना हुने भएको छ । साइबर सुरक्षा क्षेत्रमा क्रियाशील समूह पेन्टेस्टर नेपालको १३औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँको हेराल्ड कलेजमा विशेष कार्यक्रम हुन लागेको हो ।

थप पढ्नुहोस्